काठमाडौं, असोज २५ (अक्टोबर ११) – नेपाल रोल बल संघको आयोजनामा चन्द्रागिरिस्थित रिब्स स्कुलमा जारी पाँचौ अन्तरविद्यालय रोल बल तथा स्केटिङ रेस च्याम्पियनसिप र छैठौं राष्ट्रिय रोल बल लिग २०२५ आज सम्पन्न भएका छन्।



असोज २४ र २५ गते (अक्टोबर १०–११) गरी दुईदिने चलेको यस प्रतियोगितामा विद्यालय तहका विद्यार्थी तथा राष्ट्रिय स्तरका पुरुष र महिला खेलाडीहरूबीच रोल बल र स्केटिङमा रोमाञ्चक प्रतिस्पर्धा भएको छ।
मुख्य उद्देश्य:
नेपाल रोल बल संघका अनुसार अन्तरविद्यालय प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन गर्नु, उनीहरूमा खेल भावना विकास गर्नु र राष्ट्रका लागि नयाँ प्रतिभा पहिचान गर्नु रहेको छ।
त्यस्तै, राष्ट्रिय लिगमार्फत उत्कृष्ट खेलाडी छनोट गरी रोल बल खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष धनश्याम लुइँटेलको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो। फाइनल खेल आज दिउँसो २ बजेदेखि भएको हो।
आयोजकले खेलकुदलाई प्रोत्साहन गर्न सर्वसाधारणका लागि कार्यक्रम हेर्न निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिएको छ।



