नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको हो ।



अहिले एक सय मेगावाट भए पनि विद्युत् उत्पादनको अवस्था अनुसार निर्यात निर्धारित हुँदै जाने प्राधिकरणको भनाइ छ । प्राधिकरणले गत वर्ष पुस ३ गतेदेखि निर्यात बन्द गरेको थियो । प्राधिकरणले गत वर्ष जेठ १९ गतेबाट विद्युत् निर्यात सुरु गरेर पुस ३ सम्ममा करिब ११ अर्ब १६ करोड ३० लाख रुपियाँको विद्युत् निर्यात गरेको थियो । सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री सुरु गरिएको थियो ।
त्यसपछि २७ जेठबाट छ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले हालसम्म १० वटा जलविद्युत् आयोजनाको ४ सय ५२ दशमलब ६ मेगावाट विद्युत् विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा निर्यातको अनुमति पाएको छ ।



