काठमाडौं । नेपाल संवतअनुसार शनिबार नयाँ वर्ष लाग्दैछ । ११४४ पूरा भई ११४५ लागेको हो । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ ।
शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् सुरुवात भएको मानिन्छ । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाएको घोषणा गरेका थिए । नेपाल संवतको पहिलो दिन शनिबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।



यो पर्व नेवारी समुदायको बाहुल्य रहेको काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाइन्छ । कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा छ ।
चन्द्रागिरि नगरपालिकाले पनि नेपाल संवतको अवसरमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ । वडा नम्बर १० ले आयोजना गरेको कार्यक्रममा नगरको विभिन्न भागको परिक्रमा गरिने छ । चन्द्रागिरि नगरपालिकाले नेपाल संवत् मनाउनको लागि प्रत्येक वर्ष बजेटसमेत विनियोजन गर्दै आएको छ ।



