आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपाल समूह ‘बी’को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न अन्तिम खेलमा नेपालले नयाँ टोली जापानलाई ५ विकेटले पराजित गर्दै समूह चरणमा चार अंक जोडेको हो। यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै सुपर सिक्समा स्थान पक्का गरिसकेको थियो। जापानले भने पहिलो खेलमा कुवेतलाई ५ विकेटले हराए पनि दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
१३२ रनको लक्ष्य पछ्याउँदै नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। ओपनर आसिफ शेखले २१ बलमा ३८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनका साथमा कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र गुलशनकुमार झा अविजित २८ रन बनाए। जापानका शोमा स्लेटरले २ विकेट लिए तर टोलीलाई जित दिलाउन सकेनन्। यसअघि ब्याटिङ थालेको जापानले २० ओभरमा आठ विकेटको क्षतिमा १३१ रन बनाएको थियो। कप्तान केन्देल कादोवाकीले ६० रन, ईसम रहमानले ३१ रन र इटो डेभिसले १७ रनको योगदान दिए। नेपालका सन्दीप लामिछाने र गुलशनकुमार झाले समान २–२ विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्समा २ अंकका साथ स्थान सुरक्षित गरेको छ।






