काठमाडौं । अमेरिकाको न्यूयोर्कको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई तेन्जिङ नोर्गे शेर्पा मार्ग नामाकरण गरिएको छ ।
पहिलो सगरमाथा आरोही शेर्पाको नामबाट नामाकरणको लागि युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्बर्स एशोसिएसनको पहलमा उक्त नामाकरण भएको हो । गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक्ट २५ को सिटी काउन्सिलले शेर्पाको नाम राख्न अनुमति दिएको थियो । काउन्सिलको अनुमतिसँगै ७०औं सगरमाथा दिवसकै दिन विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखिएको हो ।



यसअघि पनि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक संकल्पत्र पारित गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल हुनुभएको थियो ।
कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेतको सहभागी रहेको थियो ।



