काभ्रे-  प्रत्येक बर्ष जेष्ठ पुर्णिमाका दिन हुने पनौतीको ‘ज्या पुन्ही’ जात्रामा अनौठो परम्परा छ । जात्रामा यौनिकता झल्काउने गरी उन्मत भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जुधाउँने गराइन्छ । लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक(आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् ।

यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ । उन्मत्तभैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडीबाट जुधाइन्छ । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन-तीन पटक एक-आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडीबाट तीनपटक जुधाइन्छ । रथ जुधाउँदा अबिर एक(आपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ । रथ जुधाउने जात्रा हेर्नको लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् ।

किवंदन्ती अनुसार, परापूर्वकालमा महादेवले कृष्णको चरित्र जान्न एक हजार आठ गोपिनी मध्येबाट एक दिन आग्रह गरेका थिए । कृष्णले आफू नभएको कोठाबाट लैजान भनेपनि सबै कोठामा कृष्ण रहेको पाए । कैलाशमा गएर पार्वतीलाई सो कुरा बताउँदा उनले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् । पार्वती ६४ योगिनीको रूप धारण गरेर कामासुर भई महादेवलाई लखेट्न थालिन् । सो रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसेको पावर्तीले थाहा पाएर ६४ योगिनी पार्वतीले त्रिवेणीवरपर महादेवको प्रतीक्षा गरिरहिन् ।

त्यसैबेला महादेव पनि उन्मत्तभैरवको रूप धारण गरी बाहिर निस्के । भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भागेकी थिइन् । भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्तभैरवले भद्रकालीलाई पछाडीबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आएको विश्वास गरिन्छ । यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरेपछि महादेव वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरेका थिए ।

इन्द्रेश्वर महादेव मन्दिरका पुजारी रमेश जंगमका अनुसार जात्रा १४ सय बर्ष भन्दा पुरानो हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रामा यौनिकता झल्कने उनले बताए । ज्यहा पुन्हीपछि पनैतीमा यो बर्षका जात्रा सकिन्छ । अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन् । छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर देखिका मानिसहरु जात्रा हेर्न आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय