महोत्तरी-पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्दै छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन २७ गते सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुग्न लागेको हो ।परिक्रमा यात्री कञ्चनवन पुगेपछि अबिर दलेर होली खेल्ने गरिन्छ । परिक्रमा यात्री अर्कालाई रङ, अबिर दलेर होली मनाउँछन् । यहीँबाट मिथिलाञ्चलनमा होली पर्वको सुरुवात भएको मानिन्छ । कंचनवनमा होली खेल्न तथा अवलोकन गर्न परिक्रमा यात्री बाहेक वरपरका गाउँठाउँबाट हजारौं मान्छे जुट्ने गर्दछन् ।

आज कञ्चनवन पुग्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ । त्रेतायुगमा सीता र भगवान् रामले एक आपसमा रङ अबिर लगार होली खेलेको धार्मिक विश्वास छ । आज राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री सोबार क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कन्छन् ।

जनकपुरमा फागु पूर्णिमाको दिन होलीका दहन पश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ । परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा पडाव स्थल छन् । जहाँ परिक्रमा यात्री रात्रि विश्राम गर्ने गर्दछन् । सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वाससहित परिक्रमा यात्री मध्यमा परिक्रममा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय