पोखरामा अहिले महोत्सवकै रौनक छ। पुस १३ देखि सुरु भएको २६औं सडक महोत्सवले पाँच दिनसम्म पर्यटक र स्थानीयलाई मनोरञ्जन दिँदै पर्यटन क्षेत्रमा नयाँ उत्साह भर्दैछ। यससँगै अन्तर्राष्ट्रिय बेलुन महोत्सव र नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस जस्ता कार्यक्रमहरूले पोखरालाई थप रोचक र व्यस्त बनाएका छन्।



पोखरामा यो समय विदेशी पर्यटकको संख्या घट्ने भए पनि यी महोत्सवले पर्यटकलाई आकर्षित गरी उनीहरूको बसाइ लम्ब्याउन सफल भइरहेको छ। सडक महोत्सवले सांस्कृतिक, रात्रिकालीन र अन्य मनोरञ्जनात्मक कार्यक्रममार्फत पर्यटकलाई स्थानीय संस्कृति र आतिथ्य अनुभव गराउँदै आएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार, यस्ता महोत्सवले होटल, रेष्टुरेन्ट, र अन्य व्यवसायमा चहलपहल बढाएर स्थानीय अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछ। साथै, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले नेपालको पर्यटन प्रवर्द्धनमा ठोस योगदान पुर्याइरहेको छ।
पोखरामा अहिलेका यी महोत्सवहरूले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्दै यसलाई विश्वस्तरमा पहिचान दिलाउने विश्वास गरिन्छ।



