पेरिस पारा ओलम्पिकका कांस्य विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले आज नगद सहित सम्मान गर्यो । गत बुधबार काठमाडौं अवतरण गरेदेखि नै पलेशालाई सम्मान र बधाई थाप्न भ्याइनभ्याइ । नेपाली खेल इतिहासकै उच्च सफलतामा सम्मान गर्नु स्वभाविक हो । तर सरोकारवालाले खेलाडीलाई सम्मानसँगै यो सफलता टिकाइराख्न र यो भन्दा उच्च सफलता पाउन गुर्नपर्ने तयारीमा भने ध्यान पुर्याउन सकेका छैनन् । राजनीतिक खिचातानीबाट आजित नेपालीलाई खुसी दिने एकमात्र स्रोत खेलकुद नै हो । दलगत आस्था, विचार र ध्रुवीकरणमा रुमलिएको नेपालीलाई एकबद्ध बनाउने पनि यहि खेल क्षेत्रनै हो । चाहे नेपालले ट्वेन्टी ट्वेन्टी विश्वकप, एसिया कप खेल्दा होस् वा घरेलु भुमिमै काभा महिला नेशन्स भलिबल लिगमा उपविजेता बन्दा नै किन नहोस् सारा नेपालीलाई राष्ट्रप्रेमले एकताबद्ध बनायो । पछिल्लो समय त्यस्तै एकताको डोरीमा बाँध्ने काम गरिन् पारा तेक्वान्दो खेलाडी पेलशा गोबर्धनले । पेरिसमा भएको पारा ओलम्पिकको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनी कांस्य जितेपछि विश्वभरका नेपालीलाई राष्ट्रियताले ओतप्रोत बनायो ।

हुन पनि नेपाली खेलकुद इतिहासकै यो सफलतामा को नेपाली खुसी नहोलान् ? गृष्मकालीन ओलम्पिकमा सहभागी हुन थालेको ६० वर्ष र पारा ओलम्पिकमा २० वर्षपछि नेपालले पहिलो आधिकारिक पदक जित्यो । यो खुसीमा अहिले खेल सम्बद्ध निकायदेखि सरकार र विभिन्न संघ संस्थादेखि राजनीतिक दलले समेत पलेशालाई सम्मान गरिरहेका छन् ।फ्रान्सबाट फर्किएको दिन राष्ट्रिय खेलकुद परिषदले विमानस्थलदेखि नगरपरिक्रमा गराई सम्मान गर्यो । लगतै काठमाडौं महानगरपालिकाले नगद ५ लाखसहित सम्मान गर्यो । निजी क्षेत्रको व्यावसायिक प्रतिष्ठान एनसेलले नगद पुरस्कारको घोषणा गर्यो । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले आ–आफ्नै निवासमा बोलाएर पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोलीलाई सम्मान गरे । प्रधानमन्त्रीले राज्यबाट पुरस्कार स्वरुप पाउने ६५ लाख रुपैयाँमा कर कट्टी नगरिने घोषणासमेत गरे ।

सँधै राज्यको उपेक्षामा परेको खेलक्षेत्रले यो स्तरको ध्यान तान्नु सकारात्मक विषय हो । तर कुनै खेल र खेलाडीले सफलता पाइरहँदा त्यस खेलको विकास र पूर्वाधारमा उथलपुथल पार्ने घोषणा गरेर समयक्रमसँगै सेलाएको थुप्रै उदाहरण हामी सामु छन् । अहिले पलेशामय बनेको खेल क्षेत्र पनि त्यही विगतको निरन्तरतामात्र हो किन भन्ने चिन्ता खेल समर्थकमा छ ।कुनै पनि सम्मानले खेलाडीलाई उत्साहित त बनाउँछ नै तर अहिलेको अवस्थामा खेल क्षेत्रले सम्मान भन्दा पनि खेल्ने वातारण र सुखद भविष्यको प्रत्यायभुति खोजेको हो । यसतर्फ ध्यान दिन सके मात्र पलेशा जस्तै अन्य थुप्रै प्रतिभावान खेलाडीको उदय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय