काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ । जलहरीबारे संसदमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो ।

अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ । यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासंघको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ ।

जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा दिइरहेको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले सुरक्षा दिइरहेका छन् भने उक्त स्थानलाई सिसिटिभीबाट पनि निगरानी गरिएको छ ।

यसैबीच, बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृह अर्थात् ज्योतिर्लिङ्गमा राख्ने तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषको कार्यालयले जनाएको छ । जलहरी निकाल्ने बेलामा क्षमापूजा गरिसकिएकाले अब पुनस्र्थापित गरिने कोषको तयारी छ ।

गर्भगृहबाट जलहरी निकाल्ने र नापजाँच गर्ने बेलामा रोकिएको पूजा पनि पुनः सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय