काठमाडौं । शुक्रबार देखि लगतार परेको पानीले विभिन्न ठाउँमा बाढीपहिरो जानुका साथै धनजनको क्षति भइरहेको छ । पानीसँगै आएको पहिरोले देशभरको विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ ।
काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायतका नदी खोलाका करिडोरमा पानीको बहाब बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोका विभिन्न पूर्व संकेतहरु पाउन सकिन्छ जनाएको छ ।



पहिरो आउन लागेको कसरी थाहा पाउने ?
– जमीन भुक्क फुल्नु, भासिनु ,चिरा पर्नु, धाँजा फाट्नु
– रुख विजुलीको पोल वा घरका खाँबा ढल्किनु
– घरको भित्ता, पर्खालमा चिरा देखिनु
– घरको झ्याल ढोका बांगिनु र खोल्न गाह्रो हुनु
– जमीनभित्रबाट पलाउने पानी धमिलो हुनु
– जमीनमुनि चट्टान फुटेजस्तो कट्कट् आवाज आउनु
– जमीन थर्केको जस्तो हुनु
प्राधिकरणले यी संकेत पाउने बित्तिकै सुरक्षित स्थानमा गई सम्बन्धित वडा र प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।



