निलम महर्जन

काठमाडौं । दुई महिनापछि चीनको हान्झोउमा हुने १९औं एसियाली खेलकुद एसियाडमा नेपालले सहभागीता जनाउन लागेको खेल मध्ये टिम इभेन्टस्मा धेरैको ध्यान तानेको टोली हो महिला भलिबल ।

सन् १९९९ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको महिला भलिबलले यो साढे २ दशकमा धेरै सफलता समेत पाएको छ । टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देखाएको प्रदर्शन र प्राप्त नतिजाकै आधारमा राष्ट्रिय खेलकुद परिषद्ले महिला भलिबललाई पहिलो पटक एसियाडमा पठाउने निर्णय गर्यो । दक्षिण एसिया र मध्ये एसियाली क्षेत्रमा मात्र सिमित महिला टोली अब यो भन्दा माथिल्लो स्तरमा खेल्ने तयारीमा छ । तर यो चुनौती सहज नहुने मुख्य प्रशिक्षक जान डी ब्रान्टले बताउनु भयो । ओलम्पिक काउन्सिल अफ एसियाले प्रतियोगितामा समावेश टीम इभेन्टतर्फको समुह विभाजन गर्दा नेपाल रहेको समुह सी मा दक्षिण कोरिया र भियतनाम जस्ता स्तरीय टोली परेका छन् । ओलम्पिक, विश्वकप र वल्र्ड च्याम्पियनसीपको काँस्य विजेता तथा एसियाली खेलकुदमा स्वर्ण विजेता टोली दक्षिण कोरिया विश्वकै उत्कृष्ट बलियो मध्येको टोली भएको मुख्य प्रशिक्षक ब्रान्टले बताउनु भयो । भियतनामले हालै मात्र एसियन च्यालेन्ज कप जितेको थियो । विश्व भलिबलमै स्तरीय टोलीहरु एसियामा छन् ।

लगातारको प्रतियोगिता र लगत्तै सुरु भएको बन्द प्रशिक्षणमा रहेका खेलाडी एसियाडलाई लिएर उत्साहित छन् । हालै सम्पन्न काभा वुमन्स च्यालेन्ज कपमा टोलीमा रहेका ४ खेलाडी एसियाडको तयारीमा छैनन् भने स्पाइकमा प्रतिभा माली र सेटरमा जानकी भण्डारीले बन्द प्रशिक्षणमा सामेल छन् । १२ सदस्यीय टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण देख्न सकिन्छ । पछिल्लो समय लगातार घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेका छौं त्यसले खेलाडीलाई एक्सपोजर दिएको अनुभवी खेलाडी प्रतिभा मालीको अनुभव छ । तर ठूला प्रतियोगिता अघि बलिया टोलीसँग अभ्यास खेल्न पाएमा आफ्ना कमिकमजोरी सच्याउन सकिने उनले बताईन् ।

नेपाल भलिबल संघले चीन जानु अघि भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउने तयारी गरेपनि निश्चित भइसकेको छैन् । काभा वुमन्स च्यालेन्ज कपको २ पटकको विजेता तथा सागमा २ पटकको उपविजेता नेपालका लागि एसियाडमा पदक जित्नु भन्दा लक्ष्य भेट्टाउन बलिया टोलीविरुद्ध समुह चरणमा कम्तीमा एक जीत निकाल्नु आवश्यक छ ।

तस्बिर : राष्ट्रिय खेलकुद परिषद्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय