काठमाडौं । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।
उनकै नेतृत्वमा पाकिस्तानमा आम निर्वाचन हुनेछ । पाकिस्तानी सेनासँग निकै राम्रो सम्बन्ध भएका अनवरलाइ निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको हो । निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफलले कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा अनवरको नाममा सहमति जुटाएका थिए । अनवर उल हक काकर पाकिस्तानका चर्चित नेता हुन । अनवर सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए ।



देश आर्थिक संकटमा परेको, पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन शान्तिपूर्ण रुपमा गराउनुपर्ने जिम्मेवारी आइलागेको छ ।



