काठमाडौं — परम्परागत राजनीतिक दलहरूको विकल्प खोज्दै आएको नेपाली मतदाताले पछिल्ला निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूलाई मतदान गरेको देखिएको छ। विशेषगरी, २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका हर्क साम्पाङ, र धनगढी उपमहानगरपालिकाका गोपाल हमालजस्ता स्वतन्त्र उम्मेदवारहरूले जित हात पारे। यसले पुराना दलहरूप्रतिको वितृष्णा र नयाँप्रतिको आशा स्पष्ट पारेको थियो।
तर पछिल्लो समय नयाँ दलहरूमा गरिएको यो विश्वासमा खलल आएको देखिन्छ। २०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले २०८० सालको उपनिर्वाचनमा एक सिट थप्दै आफ्नो लोकप्रियता देखाएको थियो। तर, एक वर्ष नपुग्दै नयाँ दलहरूमा गरिएको भरोसा खस्किँदै गएको छ। पुराना दलहरूमा विश्वास पुनःस्थापित भइसकेको छैन, तर नयाँहरूले पुरानाभन्दा पनि खराब प्रदर्शन गरेको आरोप खेपिरहेका छन्।



विशेषगरी, स्वतन्त्र उम्मेदवारका रुपमा जितेका धरानका मेयर हर्क साम्पाङप्रतिको विश्वास कमजोर हुँदै गएको देखिए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने अझै जनविश्वास कायम राख्न सफल भएका छन्। बालेनले आफ्नो कामको माध्यमबाट मतदाताको मन जित्न सफल भएका कारण आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उहाँको भूमिका र रणनीतिप्रति चासो बढेको छ।
यसपटकका उपनिर्वाचनमा ४४ वटा स्थानमा हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूले बालेन शाहको समर्थन रहेको दाबी गरिरहेका छन्। तर, बालेनको सचिवालयले उहाँले कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेको छ।
अब प्रश्न उठेको छ — के बालेन शाह आगामी दिनमा पुनः स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिनेछन्, वा नयाँ राजनीतिक दलको स्थापना गरेर पुराना दलहरूको विकल्प प्रदान गर्नेछन्रु यो निर्णयले भविष्यमा नागरिकको अपेक्षा र विश्वासलाई पुनः जागृत गर्न सक्ला वा यो पनि असफल नयाँ प्रयोगमात्रै सावित हुनेछ ?
नयाँ अनुहारहरूले देखाएको असफलता र पुरानाबाट भएको निराशाका बीच, बालेन शाहले आगामी उपनिर्वाचनमा कुनै भूमिका खेल्ने वा राजनीतिक पार्टी नै खडा गर्ने भन्ने जिज्ञासा सर्वत्र छ। अबको केही महिना नै यसबारे स्पष्ट गर्नेछन् कि नेपालको राजनीतिक भविष्यमा नयाँ विकल्पको सम्भावना कायम छ कि छैन।



