पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट भेपमा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज नियन्त्रणमा लिएको हो । महराले स्वयमले पनि मिडियाले हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्न लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन ।
भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । भेप भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् ।



महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको प्रहरीको अनुसन्धानले देखाएको छ । सुन प्रकरणमा अहिलेसम्म २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।



