गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
चीनको छेन्दुबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानमा पोखराको फेवातालमा असार ८ र ९ गते हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आएका थिए । भने राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव र उपसचिव रामहरि थापा गत जेठ २७ गते चीन भ्रमणमा जानुभएको थियो ।



अंग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भने सकेको थिएन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो । चीनको सिचुआन एयरलाइन्सको चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।



