पोखरामा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा एक दुर्भाग्यपूर्ण दुर्घटना भएको छ। उद्घाटन समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बेलुन विष्फोटबाट घाइते भएका छन्।
पोखरा रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्विच थिचेर औपचारिक उद्घाटन गरे। कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी लगायतका विशिष्ट व्यक्तिहरू सहभागी थिए। कार्यक्रमको सुरुवातमा उद्घाटनको प्रतीकस्वरूप बेलुन उडाउन तयारी गरिएको थियो। अर्थमन्त्री पौडेल मञ्चतर्फ फर्किन लाग्दा मेयर आचार्यले उनलाई तानेर बेलुन उडाउन आग्रह गरे। दुबै जनाले बेलुन समातेपछि, त्यही बेला मञ्चमा बालिएको ‘फायर वर्क्स’ को झिल्को बेलुनमा पर्यो। आगो लागेपछि बेलुन विष्फोट भयो र त्यसका टुक्रा मेयर आचार्य र अर्थमन्त्री पौडेलको अनुहारमा पर्या।



घाइतेको अवस्था र उपचार
घटनापछि अर्थमन्त्री पौडेल दौडिएर स्टेजमा पुगे भने मेयर आचार्य अत्तालिँदै तल झरे। तत्कालै सुरक्षाकर्मीहरूले हस्तक्षेप गरी घाइतेहरूलाई अस्पताल पुर्याए। अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल काठमाडौं ल्याइयो।
- मेयर आचार्यलाई फिस्टेल हस्पिटल लगिएको थियो, र उनको गालामा सामान्य चोट लागेको जनाइएको छ।
कार्यक्रमलाई निरन्तरता
यस्तो अप्रत्याशित दुर्घटना भए पनि पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रम यथावत् सञ्चालन गरिएको छ। प्रमुख अतिथिहरू घाइते भए पनि समारोहका अन्य औपचारिक कार्यक्रमहरू सम्पन्न भएका छन्। अनुसन्धान जारी
कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम बाबु ओलिया ले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् प्रवाह भएको स्विच दबाउँदा बेलुन विष्फोट भएको हुनसक्ने आशंका गरिएको छ। थप अनुसन्धानपछि दुर्घटनाको वास्तविक कारण सार्वजनिक गरिने बताइएको छ। यो दुर्घटनाले सुरक्षा मापदण्डबारे प्रश्न उठाएको छ, र आगामी यस्ता कार्यक्रमहरूमा थप सतर्कता अपनाउन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।



