काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्रको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लबमा आयोजना गरिएको साक्षात्कारमा नेता प्रधानले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिनुभयो । आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनको बहुचर्चित भनाईलाई उदृत गर्दै उहाँले प्रचण्डले अब सबलाई सधैं मुर्ख बनाउन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रचण्डले पहिला गिरिजाबाबुलाई राष्ट्रपति बनाउछु भन्दै अर्कैलाई उठाएर झुक्याउनुभयो । हामीसँग सरकारमा भएकै बेलामा प्रचण्डले २०७४ मा एकाएक वाम गठबन्धन बनाएर हामीलाई झुक्याउनुभयो । फेरि २०७७ मा नेकपामा विवाद हुँदा पछि छोडेर हामीसँग जोडिन आउनुभयो । ०७९ को निर्वाचनमा हामीसँग गठबन्धन गर्नुभयो, अनि निर्वाचनपछि फेरि बालकोट भागेर जानुभयो, त्यताबाट पनि भागेर फेरि हामीसँग आउनुभयो । अब कतिपटक झुक्याउने र झुक्किने भन्दै रोस प्रकट गर्नुभयो ।

उहाँले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो सभापति शेरबहादुर देउवा महामुर्ख नरहेको भन्दै अब झुक्याउने खेला बन्द गरिदिने चेतावनी दिनुभयो । उहाँले हाम्रो समाजमा एउटा लोग्ने मान्छे तीन वटा विवाह गर्ने चलन थियो । पछि बहुविवाह आयो । प्रचण्ड त कस्तो बन्नुभयो भने एउटै व्यक्तिको दुई वटा श्रीमान् । पहिलो श्रीमान केपी शर्मा ओली र दोस्रो श्रीमान् शेरबहादुर देउवा बन्नुभयो ।

अहिले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने कुरा आफूहरुको महासमिति बैठकको कुरा भएको भन्ने गरेपनि त्यसमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो ।उहाँ भन्नुहुन्छ, प्रचण्डको राजनीति भनेको सत्ताको होडबाजीमा चलखेल गर्ने देखियो । अहिले प्रचण्डले एउटै गोलीले दुई वटा शिकार गर्नुभयो–पहिलो माधव नेपाल, दोस्रो शेरबहादुर देउवा ।’ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन सक्नेमा पनि नेता प्रधानले आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेपनि सत्ता सहकार्यको लागि एमाले र कांग्रेस मिल्ने सम्भावना जिवितै रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय