सत्ताबाट बाहिरिएर सडकमा पुग्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला विभिन्न तह र तप्कासँग सम्बादमा हुनुहुन्छ । कहिले राजा समर्थित दल राप्रपाका नेतासँग त कहिले पूर्वराजा ज्ञानेन्द्र शाहसँग । आखिर राजनीतिक वृत्तमा कस्तो खिचडी पाक्दैछ त ? के प्रचण्ड अब राजसंस्थासँग हात मिलाउने परिस्थितिमा पुग्नुभएकै हो ? पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री प्रचण्ड भेटको रहस्य के हो त ?
माओवादी केन्द्रले काठमाडौंको भृकुटीमण्डपमा खबरदारीसभा गर्यो । त्यो सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई गाली गर्नेदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको होइन भन्ने प्रष्टिकरणसम्म दिनभ्याउनुभयो । अहिलेसम्म प्रचण्ड र ज्ञानेन्द्रबीच पछिल्ला समय भेटघाटको चर्चा कतै भएको देखिदैन । सञ्चारमाध्यमहरुले पनि दुईबीचको भेटबारे उल्लेख गरेका छैनन् तर एकाधले सामाजिक सञ्जालमा लेखिदिए । त्यतिकै भरमा प्रचण्डले किन दिइरहनुभएकोछ, ज्ञानेन्द्र शाहसँग भेटेको होइन भनेर स्पष्टिकरण ?!



प्रचण्डले कतै पनि उल्लेख र चर्चा नै नभएको विषय किन स्पष्टिकरण दिदैहुनुहुन्छ ? किनकी, उही चोरको खुट्टा काट् भन्दा खुट्टा तानेजस्तो देखिन्छ । हो, प्रचण्डले केहीले सामाजिक सञ्जालमा लेखेकै भरमा प्रतिक्रिया दिनुभएको होइन । उहाँले अघिल्लो साता पूर्वराजा ज्ञानेन्द शाहसँग भेटवार्ता गर्नुभएको पूर्वराजा निकटहरुले बताएका छन् । अध्यक्ष प्रचण्डले झापा वा कता भेटे भनेर हल्ला गरे भन्नुभएको छ । तर, शाह निकट स्रोतले काठमाडौंमा कोही व्यक्तिको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा पूर्वराजा शाहले आफ्नो ‘स्पेस’का लागि वातावरण तयार पार्न आग्रह गरेको बुझिएको छ । कांग्रेस–एमाले मिलेर सत्ता सञ्चालनमा रहेका बेला प्रचण्ड आफ्नो शक्ति पुनस्र्थापित गर्न पूर्वराजासँगको सामिप्यता बढाएको हुनसक्ने अनुमान गरिएको छ । तर, त्यतिमात्र होइन– यहाँ अरु कार्डले पनि काम गरेको स्रोतको भनाइछ । भारतसँग आफ्नो पुनस्र्थापनाका लागि पहल जारी राख्नुभएका ज्ञानेन्द्रले भारतीय जनता पार्टी भाजपाको माउ संस्था राष्ट्रिय स्वयम्सेवक संघ राससका नेतालाई सकारात्मक बनाएको बुझिएको छ । नेपाललाई हिन्दु राष्ट्र बनाउने शर्तसहित राससका प्रमुख मोहन भागवतबाट समेत पूर्वराजा ज्ञानेन्द्रले आश्वासन पाएको स्रोतको दाबी छ । अहिले भाजपाले आफ्नो माउ संस्था राससलाई फकाउन यो अभियानमा कतै न कतै समर्थन गर्दै आएको छ । अर्थात भारतीय संस्थापन नेपालमा राजा फर्काउन सकारात्मक बन्दै गएको बुझिन्छ । त्यसैको एउटा कडिका रुपमा पूर्वराजा शाहलाई भुटान भ्रमण गराएर नेपालीको मनस्थिति बुझ्ने भारतीय प्रयास रहेको दाबी गरिएको छ । तर भारतीय संस्थापन नेपालमा राजसंस्था फर्काउन नेपालकै मुख्य दलहरु तयार हुनुपर्ने शर्त अघि सारेको छ । किनभने भारत अहिले नेपाली पक्षलाई चिढ्याइहाल्न चाहदैन । त्यही अनुरुप कांग्रेस–एमालेभित्र पनि राजा फर्काउने आन्तरिक खेल चलिरहँदा सत्ताबाट बाहिर रहेका प्रचण्ड एककदम अघि देखिनुभएको छ । सत्ताका लागि मरिहत्ते गर्ने प्रचण्डलाई भारत फकाउने यो दाउ बन्नसक्छ । त्यसैको प्रयोगका रुपमा उहाँले पूर्वराजा शाहलाई भेट्नुभएको बुझिन्छ ।
प्रचण्ड–ज्ञानेन्द्र कनेक्सन !
माओवादी द्वन्द्वका बेला तत्कालीन दरवार र माओवादीबीच हिमचिम रहेको थियो । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५६ असारमा सेना परिचालनका लागि राजा समक्ष प्रस्ताव लैजाँदा माओवादीविरुद्ध सेना परिचालन हुन नसक्ने अडानमा दरवार थियो । यो विषयमा माओवादी नेताहरुले बेला–बेला बोल्दै आएका छन् । त्यसपछि २०५८ जेठमा दरबार हत्याकाण्ड भयो । त्यसपछि शासन सत्तामा आउनुभएका ज्ञानेन्द्र शाह पनि माओवादी र राजनीतिक दलहरुबीच फाटो ल्याउन सक्रिय हुनुभयो । तत्कालीन माओवादी नेतृ हिसिला यमीले पनि दरबार र माओवादीबीच संवाद भएको खुलासा गर्नुभएको थियो । त्यसपछि नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले पनि काठमाडौं डेलिमा नामको आफ्नो पुस्तकमा तत्कालीन विद्रोही माओवादी र राजाबीचको सम्बन्ध उल्लेख गरेका छन् । अमेरिकी सूचना चुहाउन चर्चित बनेको विकिलिक्समा पनि माओवादी र राजाबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरेको थियो । माओवादी शान्तिप्रक्रियामा आएसँगै तत्कालनी माओवादी नेता बाबुराम भट्टराईले सांस्कृतिक राजा राख्न सकिने सार्वजनिक भाषण नै गर्नुभएको थियो । द्वन्द्वकालीन पृष्ठभूमिदेखि आजसम्मको घटनाक्रम हेर्दा प्रचण्डले पूर्वराजा भेट्नु अस्वभाविक देखिदैन । त्यसैले राजनीतिमा केही पाक्दैछ भन्ने सन्देश प्रचण्डले घुमाउरो शैलीमा शनिबारको खबरदारीसभाबाट दिनुभएको कतै लुकेको छैन ।



