काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेश हुँदैछ । अहिले बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ का प्रस्तुत गर्नुभएको बजेट पारितका लागि प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहहरुको जवाफ दिनुहुने छ ।



त्यसपछि अर्थमन्त्री डा. महतले ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव, आर्थिक विधेयक, २०८० माथि दफावार छलफलको लागि दिन तोकिने र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
(यहाँ क्लिक गर्नुहोस्) सम्भावित कार्यसूची



