काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ सम्पन्न भएर ढुवानी शुरु भैसकेको जनाउँदै निर्वाचन सामग्री तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने सुनिश्चितता व्यक्त गर्नुभयो । आयोगले फाल्गुन २१ को निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको उहाँको भनाइ छ । मतदान अधिकृतहरूले तालिम लिएर कार्यक्षेत्रमा खटिनु अगावै सबै सामग्रीहरू उनीहरूको जिम्मामा पुग्ने गरी कार्यतालिका निर्माण गरिएको भण्डारीले बताउनु भयो ।



छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै उहाँले मुलुकको अनुशासनलाई लयमा ल्याउन र लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन बाहेक अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो । मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । एक शताब्दीमै चारवटा ठूला क्रान्ति र आन्दोलन व्यहोरेको देशले अब थप संकट धान्न नसक्ने उल्लेख गर्दै उहाँले भावी पुस्ताका लागि शान्त र अनुशासित मुलुक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारकर्मीहरूको भूमिकालाई उच्च प्राथमिकता दिँदै भण्डारीले समाचार संप्रेषणमा थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । सूचनाको विश्वसनीयता कायम राख्न ‘फ्याक्ट चेक’ को महत्वबारे प्रकाश पार्दै उहाँले सत्य र विश्लेषणमा आधारित समाचारले मात्र समाजलाई सही दिशा दिने दाबी गर्नुभयो ।




