मुस्ताङ — बर्खायाममा नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध रहेकै बेला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, एक्लेभट्टीस्थित कालीगण्डकी नदीमा लुकिछिपी बालुवा उत्खनन भइरहेको पाइएको छ। अवैध उत्खनन तथा ओसारपसारमा संलग्न सातवटा ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि नदी दोहनको विषय फेरि चर्चामा आएको हो।प्रहरीका अनुसार अनुमति नलिई नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपसार गरिरहेका ट्र्याक्टरलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रहरी चौकी कागबेनीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्र्याक्टर तथा चालकलाई आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को इलाका संरक्षण कार्यालय जोमसोममा पठाइएको थियो।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन तथा संकलनसम्बन्धी काम प्रचलित कानुन र संरक्षण क्षेत्र व्यवस्थापनसम्बन्धी व्यवस्थाअनुसार गर्नुपर्छ। स्थानीय प्रयोजनका लागि समेत अनुमति र तोकिएको प्रक्रिया पालना गर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभएको छ।गण्डकी प्रदेशको ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्री वितरणसम्बन्धी कार्यविधिअनुसार बर्खायाममा नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। मुस्ताङ प्रहरीले पनि वर्षायाममा नदीको बहाव बढ्ने भएकाले नदीजन्य पदार्थ उत्खनन गर्दा कटान तथा बाढीजन्य विपद्को जोखिम बढ्न सक्ने जनाएको छ।



प्रहरी र संरक्षण निकायले पटक–पटक कारबाही गरे पनि कालीगण्डकी, कागखोला र लार्जुङ खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र ओसारपसार हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। एक्यापका अनुसार मुस्ताङमा अवैध उत्खननका लागि एक्लेभट्टी क्षेत्र बढी संवेदनशील देखिएको छ।नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले नदीको प्राकृतिक बहाव, किनारको स्थायित्व र आसपासका बस्ती तथा पूर्वाधारमा जोखिम निम्त्याउन सक्ने भएकाले प्रतिबन्धित अवधिमा निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ। पछिल्लो घटनाले पनि कानुनमा प्रतिबन्ध भए पनि व्यवहारमा नदी दोहन रोक्न स्थानीय तह, प्रहरी प्रशासन र संरक्षण निकायबीच थप समन्वय आवश्यक रहेको देखाएको छ।



