प्रधानमन्त्रीको पहिलो निर्णयका रूपमा सुरु भएको ‘तुइन विस्थापन अभियान’ दशक पुग्दा पनि घोषणामै सिमित रह्यो। मंगलबार फेरि महाकालीमा तुइन चुँडिएर एक जना बेपत्ता भएका छन् । सडक र पुलका नाममा करोडौं खर्चिएको राज्य अझै पनि तुइनको जोखिमबाट नागरिक बचाउन असमर्थ छ। नीति तथा कार्यक्रममा बारम्बार दोहोरिए पनि तुइन हटाउने प्रतिबद्धता व्यवहारमा भने झोलुंगे सपना बनिरहेकै छ।
मंगलबार दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भए । तुइनमार्फत महाकाली नदी तर्दै गर्दा नदीमा खसेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक २०७२ असोज २५ गते प्रधानमन्त्री सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको पहिलो निर्णय नै दुई वर्षभित्र देशभरिबाटै तुइन विस्थापन गर्ने भन्ने थियो । तर त्यसयता ८ जनाको तुइनबाट खसेर बेपत्तापछि मृतक घोषित भएका छन् । अन्य नदी तथा खोलाका तुइनले पनि सोही अवधिमा धेरैको ज्यान लिइसकेको छ ।



तुइनबाट खसेर बेपत्ता र मृत्यु भएकाहरू
२०८२ असार ३१ : दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता
२०८० वैशाख ९ : दार्चुलाको ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर मृत्यु
२०७९ पुस २१ : डोकटस्थित कौनेणी तुइनबाट खसेर १० वर्षीय बालक दिपेन्द्र विष्ट बेपत्ता
२०७८ साउन १५ : भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता
२०७८ असार २२ : दार्चुलाको दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी तुइनबाट खसेर बेपत्ता
२०७७ साउन १९ : लम्जुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर फुलमाया गुरुङ बेपत्ता
२०७७ साउन ६ : हेटौँडाका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको सामरी र राप्ती खोला तर्न खोज्दा मृत्यु
२०७२ पुस : दार्चुलाको सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँवर तुइनबाट खसेर बेपत्ता
२०६७ साल : इन्जिनियर राजेन्द्र न्यौपाने तुइनबाट खसेर बेपत्ता
गृह मन्त्रालयका अनुसार ६७ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्रै ६५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । १ सय ९७ किलोमिटर लम्बाइको नेपाल–भारत सीमा लम्बाईमध्ये महाकाली नेपाल–भारत सीमावर्ती नदी हो । घरायसी र दैनिक उभोग्य वस्तु किनमेल गर्न भारतीय बजारमा जानुपर्ने बाध्यता छ । सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । डडेल्धुरा, बैतडी र दार्चुलामा ३० भन्दा बढी तुइन छन् । सरकारले तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने भने पनि महाकाली नदीमा तुइनबाटै आवतजावत गर्नुपर्ने बाध्यता स्थानीय बासिन्दालाई छ ।
निर्माणका क्रममा रहेका पुल समेत समयमै नबन्दा महाकाली नदीमा खसेर ज्यान जानेको संख्या बढेको बढ्यै छ । सुरक्षित र सहज आवागमन गर्न ब्यास गाउँपालिका–६, बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा ब्यासकै मडगाउँमा झेलुंगे पुल प्रयोगमा आएका छन् ।
जयसिंह बेपत्ता भएको मालघाटसहित दुई स्थानमा झोलुङ्गे पुल निर्माण भएको छ । तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन विस्थापन कार्यविधि’ नै जारी गरेको थियो । त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्को २०७५ भदौ २९ को बैठकले तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न तथा तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली–२०७५ ल्याएको थियो । मानवीय क्षति हुने गरी वर्षेनी घटना दोहोरिने गरेका छन् । तर, नियमावलीमा उल्लेखित प्रावधान अनुसार प्रभावित क्षेत्र लक्षित विशेष कार्यक्रम ल्याएर तुइन प्रयोग नियन्त्रण हुन सकेको छैन ।



