काठमाडौं । एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार बजेटको बिभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसदमा अवरोध गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिब्यक्तिका कारण एमालेले प्रतिनिधि सभाको बैठक र राष्ट्रिय सभाको बैठक अबरोध गर्दै आएको छ । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनि दिनुभएको सार्वजनिक अभिव्यक्तिका बिरुद्ध एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । शुक्रबार पनि एमालेले बैठक सुरु हुने वित्तिकै उठेर विरोध गर्यो ।
एमाले सांसद विमला घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आग्रह गर्नुभयो । तिमिल्सिनाले प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउन आग्रह गर्नुभए तापनि एमाले संसदले बैठक अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक आइतबार बिहान ११ बजेर ३१ मिनेटसम्मका लागि स्थगित गर्नुभएको छ ।






