प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव, मधेश प्रदेश र लुम्बिनी प्रदेशले बिजयी शुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हराएको हो । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो ।

बागमतीका लागि आषुतोश घिरैयाले सर्वाधिक ९२, ईशान पाण्डेले ४४, विपिन आचार्यले १७, प्रतिक श्रेष्ठले १०, सोनु देवकोटाले १९ र गौतम केसीले १३ रन बनाए । पुलिसका सागर ढकालले ३, करण केसी, राशिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । पुलिसका लागि राशिद खानले १ सय ६ रनको शतकीय इनिङ खेले ।

आरिफ शेखले ५७, सुनिल धमलाले २०, अर्जुन साउदले २०, दीपेन्द्रसिंह ऐरीले २१ र करण केसीले १५ रन बनाए । बागमतीका रिजन ढकाल र सुर्य तामाङले ३–३, गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए । उता मुलपानी मैदानमा मधेश प्रदेशले कोशीलाई ७ विकेटले हरायो । जितका लागि १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । मधेशको जितमा अनिल कुमार शाहले ८८ र हरिशंकर शाहले २४ रन बनाए ।

त्यस्तै, भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पाखा लगायो । गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य लुम्बिनील २८ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । १० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय