काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो इटाली भ्रमण सफल भएको बताउनु भएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी भइ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफ्नो इटाली भ्रमण उपलब्धिमूलक भएको बताउनु भएको हो । सम्मेलनको क्रममा महत्वपूर्ण भेटघाटहरुबाट आफ्नो यो भ्रमण सफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मञ्चहरुमा नेपालको छवि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र बहुपक्षीयताप्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको प्रधानमन्त्री दाहालको विश्वास छ । सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव, बंगलादेशका प्रधानमन्त्री शेख हसिना लगायतसँग साइडलाइन वार्ता गरेको पनि जानकारी दिनुभयो ।



कतिपय मिडियाका पत्रकारले प्रधानमन्त्री जानै नहुने कार्यक्रममा सहभागी भएको भन्दै आलोचना भएको विषयमा उहाँले खण्डन समेत गर्नुभयो । उहाँले विद्यालय तहको खाजा कार्यक्रमको खुलेर प्रशंसा भएको बताउँदै उहाँले आफूले सम्बोधन गरेर फर्कन नपाउँदै बधाई दिनेको ताँती लागेको जिकिर गर्नुभयो ।
अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई धेरै हदसम्म रोक्न प्रयास गरिएको बताउनुभयो । उहाँले सरकारले लम्पी स्किन रोकथाम गर्न लाग्दै नलागेको भन्न नमिल्ने तर्क समेत गनुएभयो । आफू विदेश जानुअघि लम्पी स्किन रोकथामका लागि कृषि मन्त्री बेदुराम भुसाललाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
यस्तै, प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताउनुभएको छ । राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण दिने मौका दिनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री दाहाल यही साउन ६ गते इटाली जानुभएको थियो ।



