काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् ।मृतक मुखियाकोे ४ दिन भइसक्दा पनि आफन्तले बुझेका छैनन् । शव अहिले नारायणी अस्पतालमा राखिएको छ ।



के हो त सिम्रौनगढ विवाद ?
मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराएपछि उपमेयर पक्षधरले प्रदर्शन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिम्रौनगढमा मेयर र उपमेयर तथा केही वडाध्यक्षबीच लामो समयदेखि विवाद छ । ६० जना कार्यपालिका स्दस्य रहेको सिम्रौनगढ नगरपालिकामा ३९ जना सदस्य नेपाली कांग्रेसका छन् भने नगर प्रमुख किशोरी साहको पक्षमा २१ जना छन् । सिम्रौनगढ मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको गृहनगर पनि सिम्रौनगढ नै हो ।
प्रमुख प्रशासकीय अधिकृत विवादका कारण यहाँका कर्मचारी–शिक्षकले गत साउनदेखि तलब पाएका छैनन् । तलब नपाएका शिक्षक तथा कर्मचारी पनि आन्दोलनमा थिए । त्यसैक्रममा गत बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म नगरसभाले बजेट पारित नगरेका कारण नगरपालिकाको आर्थिक कारोबार ठप्पजस्तै छ ।



