फागुन २१ को निर्वाचनलाई दलहरूले सामान्य निर्वाचन झैं देखाउन खोजे पनि वास्तविकता फरक छ । यो निर्वाचनले शीर्ष नेताहरुको राजनीतिक जीवन कै कठिन मोडको पुर्याइदिएको छ । यो निर्वाचनमा केही नेताको हारको अर्थ नेतृत्वमाथि गम्भीर प्रश्नमात्र हैन राजनीतिक भविष्य समेत निर्धारण हुनेछ ।

केपी शर्मा ओली, एमाले अध्यक्ष

जेनजी आन्दोलनपछि सबैभन्दा बढी प्रहार खेप्ने नेतामध्ये एक हुन्–एमाले अध्यक्ष केपी शर्मा ओली । आन्दोलनपछि भएको पार्टी महाधिवेशनबाट नेतृत्वमा निर्वाचित भए पनि राष्ट्रिय राजनीतिमा पुनस्र्थापित हुन ओलीले यो निर्वाचन जित्नै पर्ने दबाब छ । ओलीले यो निर्वाचन गुमाएमा राष्ट्रिय राजनीतिमा मात्र हैन पार्टीको आन्तरिक राजनीतिमा पनि कमजोर बन्नेछन् । झापा–५ बाट निर्वाचनमा प्रतिस्पर्धामा रहेका ओलीलाई रास्वपाका बालेन्द्र शाहले चुनौती दिँदैछन् ।

गगन थापा, कांग्रेस सभापति

विषेश महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित गगन थापाका लागि पनि यो निर्वाचन उत्तिकै महत्वपूर्ण छ । पार्टीमा र प्रतिनिधिसभा निर्वाचनमा समेत अप्ठेरो बाटो रोजेका गगनका लागि यो निर्वाचन आफ्नो विद्रोह अनुमोदन गराउने वा पलायन हुने मुद्दाको दोसाँध बनेको छ । आफू लगातार निर्वाचित हुँदै आएको काठमाडौं–४ छोडेर सर्लाही–४ पुगेका थापाले यो निर्वाचन गुमाएमा उनको आगामी राजनीतिमा त असर पर्ने छ नै अदालतमा रहेको विषेश महाधिवेशनको वैधानिकता सम्बन्धी मुद्दामा समेत असर पर्ने कतिपयको आँकलन छ ।

रवि लामिछाने, रास्वपा सभापति

यो निर्वाचनले राजनीतिक भविष्य निर्धारण गर्ने अर्का नेता हुन्– रवि लामिछाने । २०७९ को निर्वाचन र त्यसपछिको उपनिर्वाचनमा चितवन–२ मा अत्यधिक मतका साथ विजयी भएका लामिछानेका लागि आगामी निर्वाचनको परिणामले राजनीतिक भविश्यमात्र हैन उनको व्यक्तिगत जीवनमा समेत प्रभाव पार्नेछ । सामाजिक सञ्जालको समर्थन मतपेटिकामा बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्नको जवाफ यही निर्वाचनले दिनेछ । परिणाम कमजोर आए ‘वैकल्पिक राजनीति’ को नारामाथि नै प्रश्न उठ्नेछ । अर्कोतर्फ रास्वपाको शक्ति पनि लामिछानेको हातबाट फुत्किने जोखिम बढ्नेछ ।

पुष्पकमल दाहाल प्रचण्ड, संयोजक, नेकपा

दशकौँ सत्ता र द्वन्द्वको नेतृत्व गरेका पुष्पकमल दाहाल अहिले जनमत खस्कँदै गएको यथार्थसँग जुधिरहेका छन् । यो निर्वाचनले दाहालमात्र होइन नेकपा राष्ट्रिय राजनीतिमा आवश्यक शक्ति हो कि इतिहासको अध्याय बन्दैछ, त्यसको स्पष्ट संकेत दिनेछ । निर्वाचन केन्द्र फेर्दै हिड्ने र संसदमा तेस्रो शक्ति हुँदासमेत सधै सत्ताको केन्द्रमा रहने दाहाल सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रुकुम पुगेका छन् । यदि रुकुममा निर्वाचनमा हार भएको खण्डमा दाहाल इतिहासमा सीमित रहने पक्का छ ।

माधवकुमार नेपाल,सह–संयोजक, नेकपा

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा हार खेपेसँगै पार्टी राजनीतिमा कमजोर बन्दै गएका माधव नेपाल त्यसपछि राष्ट्रिय राजनीतिमा कमजोर बनेका छन् । पराजित भएर पनि प्रधानमन्त्री बन्नु वा त्यसपछिका चार वटा निर्वाचनमा लगातार विजयी हुनुले मात्र उनले आफ्नो प्रभाव पुष्टि गर्न सकेका छैनन् । तर, आगामी निर्वाचनमा चाँहि पराजित भए भने उनी मुलधारको राजनीतिबाट सँधैका लागि बिदा हुने अवस्था आउने छ । पछिल्लो समय माओवादीसँग पार्टी एकता गराएर नेकपा बनाएका नेपालका लागि यो निर्वाचन अस्तीत्वको लडाइ सरह छ ।

विमलेन्द्र निधि, नेता, नेपाली कांग्रेस

कुनै समय नेपाली कांग्रेसको शक्तिशाली नेताको रुपमा रहेका विमलेन्द्र निधिको लागि यो निर्वाचन अस्तित्व रक्षाको रुपमा रहेको छ । गत २०७९ सालको निर्वाचनमा समानुपातिक सांसदको रुपमा प्रतिनिधिसभा सदस्य बनेका निधि यो पटक धनुषा–३ बाट प्रतिस्पर्धा गर्दै छन् । पार्टी राजनीतिमा समेत संस्थापन इतर खेमामा रहेका निधीले यो निर्वाचन गुमाएमा राजनीतिमा स्थापित हुन चुनौती छ ।

बालेन्द्र शाह, वरिष्ठ नेता, रास्वपा

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएसंगै चर्चाको शिखरमा पुगेका बालेन्द्र शाह महानगरको मेयरबाट राजीनामा दिँदै प्रतिनिधिसभाको निर्वाचनमा होमिएका छन् । महानगरको मेयर बन्दा स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेका शाह यो निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेवारको रुपमा निर्वाचनमा प्रतिस्पर्धामा छन् । रास्वपाले आगामी प्रधानमन्त्रीको रुपमा घोषणा गरेका शाहले एमाले अध्यक्ष ओलीलाई चुनौति दिदै छन् । यदि यो निर्वाचनमा पराजित भएमा शाहको राजनीति नै संकटमा पर्नेछ ।

सीके राउत, अध्यक्ष, जनमता पार्टी

जनमत पार्टी अध्यक्ष सिके राउत सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । २०७९ सालको निर्वाचनमा सप्तरी–२ मा दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा उदाएका राउतले यो तीन वर्षमा पार्टी राजनीतिमा संकट खेप्नु परेको छ । स्थापनको छोटो समयमा नै राउत नेतृत्वको पार्टीले टुट्फुट् भोग्नु प¥यो । यदि यो निर्वाचन गुमाएमा राउतको राजनीतिक भविश्यमा संकट पैदा हुनेछ ।

उपेन्द्र यादव

मधेश आन्दोलनबाट उदायका नेता हुन्– उपेन्द्र यादव । मधेसी जनअधिकार फोरम हुदै जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा उहाँको शक्ति खस्कँदो अवस्थामा छ । २०७९ सालको निर्वाचनमा सप्तरी २ सीके राउतसंग पराजित भए । तर, त्यसपछि भएको उप निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए । यदि यो निर्वाचनमा समेत पराजित भएमा उनको राजनीतिक जीवनमा ठूलो क्षति हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय