काठमाडौं । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ । यहाँका पर्वमध्ये तिहार र छठमा त झन् थरिथरिका कृषि उपज पूजा सामग्रीमा प्रयोग हुन्छन् । यीमध्ये तिहारमा केरा फलमात्र नभएर कोथाहरू नै बिक्री हुने भएपछि यो खेतीका किसानलाई अतिरिक्त आर्जनको अवसर बन्दै आएको छ ।

तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ । खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अघ्र्य (अर्घ) दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ । तिहारमा लक्ष्मीपूजाका दिन त व्यापारिक प्रतिष्ठानले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन् । यो चलनले जिल्लाका मुख्य बजारमा केराका थामको बजार जम्दै आएको विगत छ । कतिपय ब्यापारीले केही दिन पहिले नै थामबापतको अग्रिम रकम दिएपछि यो नगदले आफ्नो पर्वका सामग्री खरिदमा सहयोग पुगेको केराखेतीका किसान बताउँछन् ।

पर्वको यो अवसरले उखाल्न लाग्ने खर्चको बचतसँगै कोथा बिक्रीबाट प्राप्त हुने रकम पुरस्कारजस्तै हुने गरेको छ । यसैले यी पर्वलाई किसान केराको अमृत बेला भन्ने गर्छन् । पर्वका बेला केराका घरीले राम्रो दाम पाउने र उखालेर फाल्नुपर्ने कोथासमेत बिक्री हुनुले यो खास अवसर रहँदै आएको छ ।

वर्षभरिमा एउटा केराका झ्याङमा पाँचसातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसान बताउँछन् । यसबेला स्वागतद्वारका लागि व्यापारीले लग्ने कोथा जोडीको ३ सय रुपैयाँसम्म पाइने गरेको किसानको भनाइ छ । केराका थामको बजार लक्ष्मीपूजाको एक दिनअघिदेखि नै जम्ने गरेको छ । थामको स्वागतद्वार बनाउने चलन सहरबजार क्षेत्रमा भएको हुँदा जिल्लाका जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा ठूलै मेला जम्छ ।

मिथिला क्षेत्रमा तिहार र छठका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् ।

हिन्दू परम्पराका सबैजसो चाडपर्वको अनिवार्य प्रसाद सामग्री बन्ने र स्वास्थ्यका लागि लाभदायी यो फल बजारमा बाहै्रमास बेचबिखन भए पनि यहाँ यसको खेती भने निकै कम छ । घरकरेसा बारीमा एकाध केराका बोट देखिए पनि यसको व्यावसायिक खेती भने २ सय ८० हेक्टरमा मात्र भइरहेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय