काठमाडौं — विश्वभर लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको डेस्कटप भर्सनमा आइतबार दिउँसो प्राविधिक समस्या देखिएको छ। अचानक आएको समस्याका कारण धेरै प्रयोगकर्ताले फेसबुक प्रयोग गर्न कठिनाइ भोगेका छन्।

प्रयोगकर्ताका अनुसार दिउँसो करिब १ः३५ बजेदेखि फेसबुक अकाउन्ट स्वतः लगआउट हुने, पेज नखुल्ने तथा सामग्री लोड हुन समस्या देखिएको थियो। केही प्रयोगकर्ताको स्क्रिनमा विभिन्न प्रकारका इरर पेजसमेत देखिएको थियो।

वेबसाइट तथा अनलाइन सेवा अवरुद्ध भएको जानकारी संकलन गर्ने प्लेटफर्म डाउन डिटेक्टरमा पनि फेसबुक डाउन भएको भन्दै प्रयोगकर्ताले रिपोर्ट गरेका छन्। डाउन डिटेक्टरका अनुसार समस्या दिउँसो करिब १ः३० बजेदेखि सुरु भएको देखिएको छ।

फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले भने अहिलेसम्म यस प्राविधिक समस्याको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने विषयमा पनि स्पष्ट विवरण आएको छैन।

फेसबुकको डेस्कटप संस्करणमा आएको समस्याले विश्वका विभिन्न स्थानका प्रयोगकर्तालाई प्रभावित पारेको अनुमान गरिएको छ। मोबाइल एप भने केही प्रयोगकर्ताका लागि सामान्य रूपमा सञ्चालन भइरहेको भए पनि कतिपयले समस्या देखिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय