बंगलादेश १ दुईतिहाइको सत्ता उखेलिएन मात्र, अल्पसंख्यकका लागि आतंक पनि जन्मियो । राजनीतिप्रतिको असन्तुष्टि फरक हो तर, हिंसा र आक्रमणमा परेका अल्पसंख्यकहरुको चित्कारले विश्वलाई नै स्तब्ध बनाएको छ । अल्पसंख्यक हिन्दुहरु निशानामा परेका छन् भने हिन्दु क्रिकेटर लिटन दासको घरमा पनि आक्रमण गरेको खबरहरु आएका छन् । केही मन्दिर तोडफोड भएको पनि बताइएको छ । बंगलादेशमा भएको हिंसात्मक गतिविधिले जनजीवन प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बंगलादेश, अहिले अल्पसंख्यक हिन्दु तथा अन्य धर्मालम्बीहरुका लागि आतंक उत्पन्न भएको छ । १ सय ७० मिलियन अर्थात १७ करोड जनसंख्या रहेको बंगलादेशमा ८ प्रतिशत हिन्दु रहेका छन् । बाँकी अन्य धर्मालम्बीहरु बस्ने गर्छन् । १५ वर्षको शासनसत्ताबाट च्यूत बनेकी शेख हसिना वाजेद भागेपछि गएको अगस्ट ५ बाट बंगलादेशमा थप हिंसा भड्किएको छ । आक्रमणकारीहरुले बंगलादेशमा रहेका हिन्दुहरु हसिना समर्थित भएकाले निशानामा परेको जनाएका छन् । धार्मिक मठमन्दिरहरु तोडफोडमात्र गरिएको छैन, छानि–छानि आक्रमण पनि भइरहेको खबर आएको छ । आक्रमणको निशानामा अल्पसंख्यक हिन्दुमात्र होइन, हसिनाको दल अवामी लिगका नेताहरु पनि परेका छन् ।

बंगलादेश हिन्दु, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले यो साताको सुरुमा १० वटा मन्दिर तोडफोड तथा आगजनी गरेको विवरण प्रस्तुत गरेको छ । कुलनाको मेहरपुरमा रहेको स्कन मन्दिरमा आगजनी तथा तोडफोड गरिएको छ । यो त्यही मन्दिर हो जसले बंगलादेश स्वतन्त्र हुनेबेला र आर्थिक संकटमा दैनिक २ लाख बंगलादेशीलाई खाना खुवाएको थियो ।

मारिनेको संख्या एकीन नभएपनि सयौं रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् । क्रिकेटर लिटन दासको घरमा आक्रमण गरेकोदेखि संगीतकार राहुल आनन्दको घर पनि आक्रमणको निशानामा परेको छ । आनन्दको घरमा रहेका ३ हजारभन्दा बढी बाद्यबादन सामग्री जलाइएको छ । आततायी आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघले सामान्य विज्ञप्तीबाहेक खास पहल गर्न सकेको छैन । भेनेजुएला, क्युबा वा अन्य मुलुकमा आन्तरिक द्वन्द्व बढ्दा बोलाइने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकसम्म राखिएको छैन । नत कुनै शक्ति राष्ट्रले हिंसा अन्त्य गर्न कुनै ठोस कदम नै चालेका छन् । संयुक्त राष्ट्रसंघले हालको अन्तरिम सरकारलाई हिंसा रोक्न सन्देश त बल्ल दिएको छ । यसबीचमा ठूलो क्षति भोग्नुपरेको छ ।

बंगलादेशमा रहेका नेपालीको अवस्था के छ ?

अगस्ट ५ शेख हसिना वाजेद सत्ताच्यूत भएर भाग्दैगर्दा सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरु ढाकास्थित चिकित्सका विश्वविद्यालयमा प्रवेश गरे । उनीहरुले कक्षाकोठादेखि विद्यार्थी बस्ने छात्रावासमा समेत आक्रमण गर्दै विदेशी हिन्दुहरुमाथि जाइलागे । त्यसदिन विश्वविद्यालयका सुरक्षागार्डले नेपालीसहित विदेशी विद्यार्थीलाई सुरक्षित स्थानमा लुकाएर राखेका थिए, उनीहरु जोगिए । एक जना त आक्रमणकारीको निशानामा परेर घाइते भएका छन् । परराष्ट्रमन्त्रालयका अनुसार अहिले ४ सय विद्यार्थी बंगलादेशमा रहेका छन् । १४ सय विद्यार्थी नेपाल फर्किसकेका छन् भने बाँकी ९ सय विद्यार्थी फसेको बताइएको छ ।

बंगलादेशको यो भयावह अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायले ठोस पहल गर्न सकेका छैनन् । नजिकको छिमेकी भारतले हिन्दुमाथि आक्रमणको निन्दा गरेपनि आन्तरिक मामिला भन्दै पन्छिएको बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले दुःख व्यक्त गरेका छन् । नेपालले पनि शान्ति कायम गर्न आह्वान मात्र गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा रहेको नेपालले बंगलादेशमा भइरहेको अल्पसंख्यक हिन्दुमाथिको आक्रमणबारे खुलेर बोल्न सकेको छैन । नत चीन न अरु कुनै मुलुक बंगलादेशको हिंसामा मुख खोलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय