बंगलादेशले पहिलोपटक एसिसी यू १९ एसिया कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा युएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उपाधि जितेको हो । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४ दशमलव ५ ओभरमा ८७ रनमा अल आउट भयो । युएईका ध्रुब पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए । युएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए । इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रनको शतकीय इनिङ खेले ।मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रनको योगदान दिए । रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए ।



अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित ५० रन बनाए । तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए । युएईका तीव्र गतिका बलर आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । आयन खान र ध्रुब पराशरले एक एक विकेट लिए । सेमिफाइनलमा युएईले पाकिस्तानलाई तथा बंगलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।



