जनचाहना उपभोक्ता सहकारी संस्था लिमिटेडले आफ्नो दशौं साधारणसभा सम्पन्न गरेको छ । चन्द्रागिरि नगरपालिकास्थित थानकोटको शहिद पार्कमा आयोजना गरेको साधारण सभामा संस्थाका कानूनी सल्लाहकार, वरिष्ठ अधिवक्ता प्रा.डा. नृसिंहकुमार खत्रीले संस्थालाई खराब गर्ने र हानी नोक्सानी पुर्याउने व्यक्तिलाई हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले इष्ट अर्थात साथी सहयोगी भलो चाहने र प्रष्ट व्यक्तित्वलाई राखेर संस्था चलाउन अध्यक्षलाई सुझाव दिनुभयो । संस्थाले दशौं उत्सव मनाए पनि नबौं वर्षसम्म ओरालो मात्रै लागेको र अहिले दशौं वर्षमा आइपुग्दा गतिलिन थालेको दाबी गर्नुभयो । संस्था खडा गर्नु ठूलो कुरा नभएको तर, संस्था संचालन गर्न र टिकाउन गाह्रो भएकोले संस्थाको व्यवस्थापन समिति, शेयर होल्डर, सरोकारवाला र शुभचिन्तकले इमान्दार भएर सोचिदिएको भए आज यो संस्था यस्तो अवस्थामा नपुग्ने बताउनु भयो । उहाँले कुनै पनि संस्थालाई सफल बनाउन सुरु देखि नै प्रणाली भएको र त्यो प्रणाली नछोडी संचालन गरे कहिल्यै पनि पछि फर्केर हेर्ने अवस्था नपर्ने उल्लेख गर्नुभयो ।



डा. खत्रीले सहकारीको ऋण लिएर नर्तिनु अपराध भएकोले समयमै ऋण तीर्न र झमेलाबाट मुक्त हुन ऋणिलाई आग्रह गर्नुभयो । उहाँले सहकारीको अभिन्न अंग बचतकर्ता र उपभोक्ता भएकाले सम्बन्ध नै सकिने गरी दुबै पक्ष लाग्न नहुने, इमान्दार भएर अघि बढ्न सुझाव समेत दिनुभयो ।
जनचाहना उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष शम्भुकुमार कार्कीले चन्द्रागिरि नगरपालिकामा भएका अधिकांश सहकारी मध्ये उपभोक्ता सहकारी नगरकै एउटै मात्र सहकारी भएको बताउनु भयो । उहाँले सहकारीले अबका दिनमा बचत तथा ऋणलाई भन्दा पनि उत्पादन तर्फ अघि बढेको बताउनु भयो । उहाँले अहिले चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मसिनेमा ४० रोपनी जग्गामा अदुवा खेती गरिरहेको जानकारी गराउनु भयो । कार्कीले उपभोक्ता सहकारी भएकोले संस्था अहिले खाद्यान्नको काम गर्दै आएको र उपभोक्तालाई बजारको भन्दा कम मूल्यमा खाद्यान्न घरघरमै पुर्याउने व्यवस्था संस्थाले गर्दै आएको पनि बताउनु भयो ।
वि.सं. २०७१ साल असार ३२ गते सहकारी डिभिजन कार्यालयमा दर्ता भएर जनचाहना उपभोक्ता सहकारी संस्था संचालन हुँदै आएको छ । दर्ता भएसँगै सहकारीमा उतारचढाव हुँदै आयो । सहकारीले ऋणप्रवाह गर्ने र ऋण असुल उपर गर्न नसक्दा सहकारी समस्याको घेरामा उल्झिदै जान थाल्यो । बन्द हुन लागेको सहकारीलाई नयाँ तरिकाले लैजाने सोचका साथ अध्यक्ष शम्भुकुमार कार्की लागि परे । संचालकमा नयाँ व्यक्तिलाई जोडे । नयाँ भिजनका साथ जोडिएका व्यक्तिहरुले नयाँ ढंगले सहकारीलाई अगाडी बढाउन थाले । ६ देखि ७ महिनाको बीचमै सहकारीले पुनः गतिलिन पुग्यो । सहकारीले उपभोक्तालाई सहज र सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सहकारी पसल पनि संचालन गरेको छ । त्यति मात्र होइन ऋण लिने तर ऋण नबुझाउने ऋणीसँग ऋण उठाउन ऋण असुली उप–समिति पनि बनाएको छ । कार्यक्रममा किराँत भाषा र लिपिका विशेषज्ञ डा. चन्द्रकुमार शेर्मा, नेपाल इतिहास संघका महासचिव तथा ल क्याम्पसका प्रमुख डा. जगत प्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो ।



