नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको दावी गरेकाछन् । बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलवार संघीय संसदमा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै यस्तो बताएकाहुन । उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए । गभर्नर अधिकारीले कानूनअनुसार नै माघमा गरिको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे। उनले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानूनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको उल्लेख गरे । उनले विशेष गरी दातृ निकायको प्रतिवद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि आँकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको उल्लेख गरे । उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले आँकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताए । उनले डेब्ट टु जीडीपी अनुपातका आधारमा आगामी आ.व.को बजेट भएकाले आगामी आ.व.कै जीडीपीको अनुपातमा आन्तरिक ऋणको लक्ष्य राखिएको बताए । उनले गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भएपनि बजेट सानो आकारमा आएको बताए ।

उनले भनेृ,‘म स्रोत अनुमान समितिको सदस्य भएका नाताले नै यसको जवाफ दिनुपर्छ कि ? बजेट बनाउने क्रममा स्रोत अनुमान समितिको सिफारिसलाई बेवास्ता पो गरियो कि भन्ने जस्ता प्रश्न उठ्यो । हामीले स्रोत अनुमान गरिराख्दा समितिले माघको १५ गते जुन सिफारिस गरेका थियौं । त्यस अनुमानमा केही परिमार्जन भएका छन् । वैदेशिक अनुदानमा वृद्धि हुने अर्थ मन्त्रालयको नेगोशेसन समावेश भएको छ । वित्त आयोगको पछिल्लो सरकारलाई सिफारिस छ । त्यसमा पनि केही फरक परेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५.५ प्रतिशत आन्तरिक ऋण लिन सकिने सिफारिस गरेकाछने । अहिले प्रदेश र स्थानीय तहले ऋण उठाउने कानूनी र नीतिगत व्यवस्था नभएकाले संघीय सरकारसँग थप आन्तरिक ऋण उठाउन सक्ने स्पेस रहेछ । राजश्व परिणाममा पनि केही पछिल्लो आउने सालको झन्डै ६ प्रतिशतको वृद्धि हुने भएकाले अर्थ मन्त्रालयको सबै परिमार्जन कानूनअनुसार नै गरिएको हो । बजेट सिलिङको माघमा गरेको सिफारिसलाई जेठ १४ गते पुनरावलोकन गरेका छौं । नरमल अभ्यास त्यही हो । माघमा बजेट सिलिङ तोक्छौं र बजेट भन्दा अगाडि बीचमा भएका विकासक्रम र अन्य तथ्यहरुलाई खाल गर्दै कानूनी रुपमा पुनरावलोकन गर्ने व्यवस्था छ । मंगलवार जुन बजेट आएको छ । त्यो बजेटको आकार पनि नयाँ सिलिङभित्र नै छ । आगामी आर्थिक वर्षको जीडीपी ६३ खर्ब रुपैयाँ हुने प्रक्षेपणका साथ ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।’

अर्थसचिव मधुकुमार मरासिनीले स्रोत अनुमान समितिले माघमा दिएको बजेट सिलिङ जेठसम्म आउँदा स्वभाविक रुपमा बढ्ने बताए । उनले बजेट सिलिङपछिका आवश्यकता र विकासक्रमका आधारमा बजेटको आकार वृद्धि हुने अवस्था रहेको बताए । उनले बजेटको सिलिङ पछि मन्त्रालयगत रुपमा आयोजनाहरु थपिने भएकाले समावेश गर्दा आकारमा तलमाथि हुने गरेको बताए । उनले त्यस्तो हुने भएकाले स्रोत अनुमान समितिले बजेटको अघिल्लो दिन सिलिङ पुनरावलोकन गर्ने कानूनी व्यवस्था हुने गरेको बताए ।

उनले बजेटको सिलिङ बढाएको कुरा बाहिर सामान्यतया ल्याउने नगरिएको बताए । उनले सरकारले संसदमा पेश गरेको बजेटको आकार भन्दा सिलिङ बढी रहेको बताए । उनले अर्थमन्त्री ठूलो राजनीतिक दबाबका बीच पनि १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय