काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको वनदेवी गौचरण खैजेडी भजन समूहले स्थापनाको एक वर्ष पूरा गरेको छ । सोमबार वडा नं. ७ स्थित वनदेवी मन्दिर प्राङ्गणमा समूहले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री रमा आलेमगरले आफ्नो निर्वाचन क्षेत्रमा खैजेडी बाजा संरक्षण गर्ने यो नै पहिलो समूह भएको बताउनु भयो । उहाँले विगत चार महिना अघिदेखि आफू अस्वस्थ भइ घरमै आराम गरिरहेको तर संस्कृति संरक्षण लागि परेको यस्तो समूहको निमन्त्रण अस्वीकार गर्न नसकी आफू पनि सहभागि भएको बताउनु भयो । उहाँले अघिपछिको झैं माया र स्नेह पाइरहने विश्वास व्यक्त गर्नुभयो ।




यसैगरी, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले वनदेवी गौचरण खैजेडी भजन समूह नगरकै पहिलो खैजेडी भजन समूह भएकाले आफुले नगरबाट समूहका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा समूहका अध्यक्ष श्यामकुमार केसीले खैजेडी भजन समूह गठन गर्दाको अनुभव र अहिलेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा काठमाडौंको काभ्रेस्थलीमा रहेको शान्ति धामका एक हजार आठ स्वामी चतुर्भजाचार्यले धार्मिक प्रवचन दिनुभएको थियो । कार्यक्रममा खैजेडी भजन समूहका सदस्य, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।



