सर्लाही- सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले काम सुरु गरेको छ । गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समितिले सोमबारवाट स्थलगत अध्ययन थालेको हो ।



टोलीले सदरमुकाम मलङ्गवामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग बैठकसहित आवश्यक जानकारी लिएको छ । टोलीले बरहथवा नगरपालिका अन्तर्गत घटनास्थललगायत विभिन्न स्थानको अवलोकन गरेको छ । समितिले शनिबारबाट सात दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने समयावधि पाएको समितिले सरोकारवाला पक्षहरूसँग तदारुकताका साथ काम गरिरहेको जनाएको छ ।
टोलीले प्रहरीको गोली लागेर गत शुव्रmबार मृत्यु भएका जयशङ्कर साह गोलीकान्ड घटनासहित समग्र अवस्थाको सत्यतथ्य छानबिन गरी अनुसन्धान प्रतिवेदन पेस गर्ने छ । आइतबार साँझ मृतकका परिवार, आन्दोलित दल र स्थानीय प्रशासनबिच ११ बुँदे सहमति भएपछि मृतक बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टम गरी सोमबार अन्त्येष्टि गरिएको थियो ।



