काठमाडौं । बहुचर्चित १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । गोरखाको सिरुङ्टारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलविद्युत आयोजनालाई कुनै पनि हालतमा अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले आयोजनाको काम नहुने हो की भन्ने सबैतिर चिन्ता देखिएको तर अब हरहालतमा आयोजना नरोकिने दाबी समेत गर्नुभयो । गोरखा र धादिंङको बीचबाट बग्ने बुढीगण्डकी नदीमा २६३ मिटर अग्लो ड्याम बनाइ १२ सय मेगावाट बिजुली निकालिने योजना छ । पावर हाउस भने गोरखाको सिउरिनेटारमा रहने आयोजनाले जनाएको छ ।




६३ किलोमिटर क्षेत्रफलमा फैलिने ड्याममा पानी भरिन भने करिब डेढ वर्ष लाग्ने बताइएको छ । आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भइसकेको बताइएको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी संकलन गरिसकेको छ ।



