काठमाडौं — चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा नेवारी मौलिक संस्कृति र परम्परागत संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुने भएको छ। ‘सिंहः स्वाँ दाफा खलः’, बलम्बुको आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहकार्यमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा सांस्कृतिक प्रदर्शन कार्यक्रम–२०८३’ हुन लागेको हो।आयोजकका अनुसार कार्यक्रम आगामी असोज १७ गते शनिबार अर्थात् नेपाल संवत् ११४६ को ञँलागा सप्तमीका दिन सञ्चालन हुनेछ। प्रतियोगितासँगै सांस्कृतिक प्रदर्शनसमेत गरिने भएकाले कार्यक्रमले स्थानीय कला, संगीत र परम्परालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।
नेवारी परम्परागत संगीत र बाजागाजाप्रति नयाँ पुस्ताको रुचि बढाउने तथा स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। पछिल्लो समय आधुनिक संगीत र मनोरञ्जनका माध्यमको प्रभाव बढिरहेका बेला परम्परागत बाजा तथा संगीतलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ।



प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टोलीले ७५ हजार रुपैयाँ, द्वितीयले ५० हजार र तृतीय हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुई वटा खलः/पुचःलाई सांत्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले २ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुने टोलीले आफ्नो प्रस्तुति र तयारीका लागि आयोजकसँग आवश्यक जानकारी लिन सक्नेछन्।
कार्यक्रमसम्बन्धी थप जानकारी तथा दर्ताका लागि ९८४०५२६८०३, ९८४९७९८९२९, ९८०३३०२६८८, ९८४३५४८५३६ र ९८४१७७८६४० नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।आयोजकले प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई चन्द्रागिरिको मौलिक संस्कृति, नेवारी परम्परा र बाँसुरीवादनको पुस्तान्तरण गर्ने अवसरका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममार्फत स्थानीय कलाकार तथा सांस्कृतिक समूहलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत मिल्ने अपेक्षा गरिएको छ। चन्द्रागिरिमा आयोजना हुन लागेको यो कार्यक्रमले परम्परागत बाजागाजाप्रति नयाँ पुस्ताको चासो बढाउनुका साथै स्थानीय सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास आयोजकले गरेको छ।



