बागमती नदी नजिक आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा सवारी साधनहरू क्षतिग्रस्त भएका छन्। तर सौभाग्यवश, कुनै पनि मानवीय क्षति भएको छैन ।
वीरगञ्ज महानगरपालिका–२१ निवासी करिब २६ वर्षीय ट्याङ्कर चालक कृष्ण महतो ले बिहान करिब ५:०० बजे प्रहरी सम्पर्कमा आइ घटनाको जानकारी दिएका थिए।



उनका अनुसार, बारा अमलेखगञ्जबाट काठमाडौँतर्फ डिजेल बोकेर जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्याङ्कर बागमती पुल चढ्ने क्रममा हिलो सडकका कारण चिप्लिएर खोलामा खसेको हो।
महतोले ट्याङ्करबाट हाम फालेर सकुशल आफ्नो ज्यान जोगाएका छन्। ट्याङ्कर भने खोलाको बहावमा बगिसकेको छ।
सोही दिन बिहान करिब ६:३० बजे अर्को सवारी दुर्घटना भएको पुष्टि भएको छ।
ना ३ ख ५१९६ नम्बरको डिब्बा ट्रक, जुन भान्साको सामग्री लिएर काठमाडौँतर्फ गइरहेको थियो, बागमती पुलदेखि करिब २०० मिटर उत्तरतर्फ पार्किङ गरिएको अवस्थामा खोलामा आएको पानीको अत्यधिक बहावले फसेको हो।
चालक विश्व बन्धु श्रेष्ठ (उमेर करिब ३५, सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३) ले प्रहरीलाई खबर गरेका थिए। ट्रक घटनास्थलमै फसेको छ तर कुनै व्यक्ति वा पशुमा क्षति नभएको जानकारी प्राप्त भएको छ ।
प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, दुबै दुर्घटना खराब मौसम, चिप्लो सडक र अनियन्त्रित पानीको बहावका कारण भएको अनुमान गरिएको छ।



