काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशले आजबाट महिला क्रिकेट प्रतियोगिताको सुरूवात गरेको छ ।
गौतमबुद्ध क्रिकेट रङ्गशाला भरतपुरमा पाँचदिने बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता र बागमती प्रदेशस्तरी महिला क्रिकेट प्रतियोगिताको भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालले ब्याटिङ र बलिङ गर्दै शुभारम्भ गरेकी हुन् । बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भए पछि त्यसको तयारी स्वरुप प्रतियोगिता गरिएको हो ।प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशले प्रदेश क्रिकेट संघसँग मिलेर तीन वटा प्रतियोगिता गर्नेछ । सम्झौताअनुरूप हुने बागमती प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता, बागमती प्रदेश एलिट ट्रफी तथा बागमती प्रदेश द्वपक्षीय सिरिजको आयोजना हुने छ । मंसिर १५ देखि मंसिर २९ गतेसम्म विभिन्न चरणको प्रतियोगितामा बागमती प्रदेशको विभिन्न जिल्लाका ६४ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताबाट छनोटमा परेका खेलाडीलाई आगामी पुष १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा र बागमती प्रदेशले फागुन २५ गतेदेखि आयोजना गर्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ । छनोट भएका टोलीले एपिएफ क्लबसँग मैत्रीपूर्ण खेल पनि खेल्ने छ । खेल मंसिर २७, २८ र २१ गते तीन दिनसम्म हुनेछ । छनोट प्रतियोगिताको उद्घाटनसँगै १० वटा खेलहरू चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा र ६ वटा खेल मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छ ।



बागमती प्रादेशिक क्रिकेट संघको प्राविधिक व्यवस्थापनमा हुने प्रतियोगिताको लागि बागमती प्रदेश,प्रदेश खेलकुद विकास परिषदले २५ लाख रुपैयाँ बजेट प्रदान गरेको छ ।



