बागलुङमा साउन पहिलो सातादेखि तीव्र रुपमा फैलिएका डेङ्गु संक्रमण बिस्तारै कम हुँदै गएको छ । पछिल्लो ११ औँ हप्तासम्मको तथ्यांक अनुसार डेङ्गु संक्रमण उच्च बिन्दुबाट घट्दो क्रममा रहेको हो । साप्ताहिक तथ्याङ्क अनुसार साउनको पहिलो हप्तामा ५६ जना डेङ्गु संक्रमित भेटिएका थिए । दोस्रो हप्तामा संक्रमितको संख्या बढेर १३० पुगेको थियो भने तेस्रो हप्तामा केही घटेर ९६ जनामा झरेको थियो। त्यसपछि संक्रमितको संख्या निरन्तर बढ्दै सातौँ हप्तामा २४६ जनासम्म पुगेको थियो। उक्त संख्या सो अवधिको सबैभन्दा बढी हो ।
सातौँ हप्तापछि भने संक्रमण क्रमशः घट्दै गएको देखिएको छ। आठौँ हप्तामा २३१, नवौँ हप्तामा १८० र दशौँ हप्तामा १९० जना संक्रमित भएका थिए। ११औँ हप्तामा भने संक्रमितको संख्या घटेर ११८ जनामा झरेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मौसममा आएको परिवर्तनसँगै पछिल्लो समय गरिएको डेङ्गु सर्वेक्षण, लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान तथा जनचेतनामूलक कार्यक्रमले नागरिकमा सचेतना बढेकाले संक्रमण घटेको हुन सक्ने देखिएको छ ।



यद्यपि संक्रमण घट्दै गएको भन्दै ढुक्क हुने अवस्था नरहेको प्रमुख शर्माले बताउनुभयो । अघिल्लो वर्षको प्रवृत्ति हेर्दा संक्रमण घटेपछि पनि कुनै बेला ह्वात्तै बढ्न सक्ने भएकाले सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ । ‘अघिल्लो वर्षको ट्रेन्ड हेर्दा डेङ्गु दर घट्यो भनेर ढुक्क हुने अवस्था छैन, कहिलेकाहीँ ह्वात्तै बढेर पनि जान सक्छ, बागलुङमा यस वर्ष धेरै संक्रमित हुनुभयो,’ शर्माले भन्नुभयो – ‘सबैभन्दा बढी त बागलुङ नगरपालिकामै संक्रमण बढी फैलियो, बागलुङ डेङ्गु संक्रमण फैलिने जिल्लाहरुमा पहिलो नम्बरमा छ, यद्यपी हामीहरुले यसको नियन्त्रणका लागि सचेतामुलक कार्यक्रम गरि रहेका छौँ, खोज र नष्ट अभियान पनि टोल टोलमा पुग्यौँ ।’
कात्तिक अन्तिमसम्म डेङ्गु फैलाउने लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने स्थान नष्ट गर्ने, घर तथा वरपरको सरसफाइ गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन प्रमुख शर्माले आग्रह गर्नुभयो । संक्रमण नियन्त्रणका लागि व्यक्तिनै सबैभन्दा बढी सचेत हुनु प्रमुख उपाय भएको उहाँको भनाइ छ । बागलुङ जिल्लाभर साउन महिनादेखि हालसम्म कुल एक हजार ८३५ जनामा डेङ्गु संक्रमण देखिएको छ ।



