काठमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित अवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल थालेका छन्। गत भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत वितरण, उपचार र समग्र सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिन प्रधानमन्त्री शाहले छलफल थालेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका क्रममा प्रभावित क्षेत्रमा भइरहेका कामबारे जानकारी लिएर आवश्यक निर्देशन दिने तयारी छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ।प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा खोजी तथा उद्धारसँगै राहत र उपचारको काम जारी रहेकाले प्रधानमन्त्रीले सुरक्षा निकायबाट प्रत्यक्ष जानकारी लिन लागेका हुन्।






