ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बाढीले अस्थायी मोटरेबल काठेपुल र लघु जलविवद्युतमा क्षति पु¥याउँदा स्थानीय मर्कामा परेका छन् । तमोर कोरिडोर सडकअन्तर्गत लेलेपस्थित थाक्पु खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाउँदा बुधबार रातिदेखि यातायात ठप्प भएको छ ।थाक्पु खोलाबाट उत्पादित लघु जलविद्युतको कुलो बाढीले क्षतिग्रस्त बनाएपछि विद्युत सेवा समेत अवरुद्ध भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो । उहाँका अनुसार लघु जलविद्युतको उत्पादन अवरुद्ध हुँदा लेलेपका साविक ३, ४, ५, ६ र ७ वडाका बासिन्दा विद्युत सुविधाबाट बञ्चित भएका छन् ।



बाढीले थाक्पु खोलाको काठेपुल र खोला आसपास क्षेत्रको करिव २०० मिटर सडकसमेत क्षति गर्दा यातायात पूर्णरुपमा ठप्प हँदा स्थानीयलाई आवतजावतमा समस्या निम्तिएको छ । बाढीका कारण सडक अवरुद्ध भएपछि वडानम्बर ७ ओलाङ्चुङगोलातर्फ यातायात सुविधा ठप्प भएको हो । सडक र विद्युत अवरुद्ध बनेसँगै पालिकाले आजदेखि नै निर्माणको कार्य सुरु गरेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाको ५ लाख रुपैयाँ रकम र पालिकाकै स्काभेटर, इनधन उपलब्ध गराएर निर्माण कार्य सुरु गरेको हो । अधिकांस क्षेत्रमा क्षति पुगेकाले विद्युत सूचारु हुन महिनौ दिन लाग्न सक्ने बताइएको छ ।



