संघीय राजधानीलाई पूर्वसंग जोड़ने बीपी राजमार्ग बाढी र पहिरोका कारण ध्वस्त भएको छ। असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले मुलुककै सुन्दर र पर्यटकिय राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षतविक्षत भएको हो । सडकका दर्जनौं स्थान भत्किदा यातायात सेवा समेत प्रभावित छ।बिशेषगरी काभ्रेको १ नम्बर पुलदेखी नेपालथोकखण्डको १४ स्थानमा सडकको नामोनिसाना नै छैन। उक्त राजमार्ग कहिले पूनर्निमार्ण हुन्छ ? एकिन छैन्। अस्थायी रूपमा ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा त आएको छ तर सबै खोलाको किनारमा बानेकोले कहिलेसम्म संचालन हुंछ भन्न सकिन्न ।
विशेषगरी काभ्रेको रोशी खोला नदीको किनारको भाग बढ़ी क्षति भएको छ । काभ्रेको भकुण्डेबेंसी देखी सिन्धुलीको नेपालथोकसम्म ३० किलोमिटर दूरी छ। त्यसमध्ये एक नम्बर पुल, चौकीडाँडा, घुमाउने, लास्कोटबेशी, चारसय, गिम्दीबेशी, नार्के, दाउन्ने, मंगलटार, कालढुंगा, डालावेशीं, पिप्ले, माम्ती, ऑपटार, नेपालथोक लगायतका ठाउँमा गरी ८ किलोमीटर सडक बगाएको छ ।



मित्रराष्ट्र जापान सरकारको करिब २६ अर्ब जापानी येन अर्थात् झन्डै २५ अर्ब अनुदान सहयोगमा चारखण्डमा विभाजन गरेर ०५२ सालबाट यस राजमार्गको निर्माण थालिएको थियो। करिब २० वर्ष लगाएर बनेको बीपी राजमार्ग नेपालको प्रमुख बैकल्पिक राजमार्ग समेत हो।
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइराला ९बीपी कोइराला० को नाममा निर्माण गरिएको यस राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका पहाडी क्षेत्रको विकासको ढोका समेत खुला गरेको थियो। पूर्वी नेपाल र मध्य तराईलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने मात्र हैन, बीपी राजमार्गले यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिशीलतालाई समेत बढाउन मद्दत गरेको थियो। तर, दुईदिनको वर्षातले निर्माण सम्पन्न भएको १५ वर्ष पनि नबित्दै क्षतविक्षत बनाइदिँदा नियमित यातायात सञ्चालन सँगै यस क्षेत्रको विकास क्रम समेत पछि धकेलिएको छ।



