बाराको निजगढमा सोमबार तीन जनाको ज्यान लिने गरी विस्फोट भएको शंकास्पद वस्तु बारे प्रहरीले अध्ययन जारी राखेको छ । शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका– ९ का २९ वर्षीय टीकाराम पाख्रिन र किन्ने रमेश जैसवाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
बारामा गत सोमबार तीन जना मानिसको ज्यान जाने गरी भएको बिस्फोट भएको बस्तु के थियो भन्ने अझै रहस्यमा रहेको छ । प्रहरीले शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका– ९ का २९ वर्षीय टीकाराम पाख्रिन र किन्ने भारतीय नागरिक रमेश जैसवाललाई नियन्त्रणमा लिएर छानविन गरेपनि सो बस्तु के थियो खुलेको छैन । बाराको निजगढ नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोट भएको वस्तु धनुषा जिल्लाको धारापानिबाट बारा आईपुगेको खुल्न आएको छ ।



पक्राउ परेका बिक्रेता र खरिदकर्ता दुबैले सो सामाग्रीमा बिस्फोटक भएको थाहा नभएको बयान प्रहरीलाई दिएका छन । कवाडी पसलमा बिस्फोटक कहाँबाट र कसरी उक्त विष्पोटक पदार्थ आइपुग्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ । विस्फोटक पदार्थ निक्कै शक्तिशाली रहेको प्रशासनको ठम्याइ छ ।
बिस्फोट भएको सामाग्री ६५ सय रुपैयाँमा किनबेच भएको खुलेको छ । झण्डै १५ किलो तौलको त्यो पदार्थ के थियो खुलेको छैन । तर शंकास्पद वस्तु ‘प्रोजेक्टाइल इन्टेरियल’ हुन सक्ने आशंका गरेर अनुसन्धान भैरहेको छ । बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउने तयारी गरेको छ । विस्फोटक वस्तु निकै शक्तिशाली देखिएको प्रशासनको भनाइ छ ।
बमजस्तै देखिने उक्त वस्तु प्रोजेक्टाइल नै हो वा अन्य विस्फोटक भन्ने फोरेन्सिक परीक्षणपछि मात्रै बताउन सकिने प्रहरीको भनाइ छ । प्रोजेक्टाइल सेना र प्रहरी बाहेक अरुसँग नभएको सुरक्षा निकायको भनाइ छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको निजगढ बजारमा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कसपमा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । सञ्चालक मगर पनि सो विस्फोटमा मारिएका छन । विस्फोटमा परेर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका २० वर्षीय रितु रजत मृत्यु भएको छ । घाइते भारतका अरबिन साह, निजगढका सूर्यबहादुर थापाको उपचार जारी छ ।



