नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्तारुढ गठबन्धनसामू प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र एमालेबीच भएको छलफलमा अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेको बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । मिलेर जाने बारेमा कुनै सहमति भने नभएको पनि उनले जानकारी दिए ।
बैठकमा गठबन्धन दलहरूबीच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबिच सहमति नभएको पनि उनले बताए ।



यसअघि बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेले सहकार्यको प्रस्ताव ल्याए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गराएको समेत उनले बताए । आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई केही सिट दिएर जाने विषयमा केही दिनदेखि कांग्रेस र माओवादीले छलफल गरिरहेका छन ।
फागुन २० मा एमालेका एक मनोनीत सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।



