काठमाडौं । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।
विकास कोषले आज एक सूचना प्रकाशित गर्दै बुढासुब्बा डिजिटल प्रालिद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । कोषद्वारा प्रकाशित विज्ञप्तिमा उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा जानकारी गराइएको छ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपीराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउदछौँ भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको र उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ ।




६ भदौ २०८० मा बुढासुब्वा डिजिटलले पशुपति क्षेत्रको भिडिओ अधिकारको टेन्डर पाएको भन्दै बुढासुब्बाले त्यहाँको भिडिओ राखे कपिराइट लाग्ने भन्दै सुचना जारी गरेको थियो ।

उक्त सुचनाको सामाजिक संजालमा ब्यापक बिरोध भएपछि कोषले असहमति जनाएको हो ।



