काठमाडौं । साविक उपविजेता चर्च बोइज युनाइटेड २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार धरान रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा चर्च बोइज युनाइटेडले चारपटकको विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

खेलको पहिलो मिनेटमै रिचार्ड विल्सनले गरेको गोल नै चर्च बोइजको जितका लागि निर्णायक बन्यो । निर्णायक गोल गरेका विदेशी खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
खेलको दोस्रो मिनेटमै दुवै टोलीका एक–एक खेलाडी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । नेपाल पुलिसका सञ्जीव लामा र चर्च बोइज युनाइटेडका दिपेश गुरुङले खेल सुरु भएको दुई मिनेटमै रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।

जितसँगै चर्च बोइज युनाइटेडले मंगलबार हुने सातोदोबाटो युथ क्लब र झापा–११ बीचको अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ । सोमबार आयोजक धरान फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच अर्को क्वार्टरफाइनल खेल हुनेछ ।

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय