काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले परिधि शिक्षा लिई उत्तिर्ण भएका विद्यार्थीलाई पुरस्कृत गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५स्थित एहिपस्सिको बुद्ध विहार परिवेण विद्यालयमा भएको कार्यक्रममा प्रवक्ता खड्गीले पुरस्कृत गर्नुभएको हो ।

प्रवक्ता खड्गीले बुद्धको सन्देश विश्वभर फैलाउने प्रमुख उद्देश्यले नै परिधि शिक्षा दिइएको बताउनु भयो । उहाँले बुद्धले दिएको ज्ञानलाई अहिलेका यूवाले अनुशरण गर्न नचाहनु र नसक्नु दुर्भाग्य भएको भन्दै परिधि शिक्षा लिनलाई पनि सरकारले सहजरुपमा वातावरण नबनाउँदा देशबाट युवा पुस्ताले गौतम बुद्धको महिमा विर्सन थालेको उल्लेख गर्नुभयो ।

प्रवक्ता खड्गीले चन्द्रागिरि नगरपालिकको आर्थिक वर्ष २०८२–०८३ को लागि धमाधम योजना संकलनको काम भइरहेकोले परिधि शिक्षाको लागि आफुले नगरबाट बजेट विनियोजन गरिदिने र यो शिक्षालाई नगरले अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले धेरै देशमा युद्ध चलिरहेको र हिंसाका घटनाहरु बढिरहेकोले बुद्धले दिएको पंचशील उपदेशलाई फैलाउन सके विश्वमा शान्ती कायम गर्न सकिने बताउनु भयो ।

उहाँले परिधि शिक्षा भनेको नैतिक शिक्षा भएकोले यसलाई व्यवहारमा लागु गर्न सके समाज रुपान्तरण गर्न र मान्छे भएर जन्म लिएको साकार हुने दाबी गर्नुभयो । उहाँले आफुले व्यक्तिगत रुपमा बुद्ध विहारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

परिधि शिक्षा प्राप्त विद्यार्थीहरुले नृत्य, नाटकलगायत विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा परिधि शिक्षा लिन चाहने व्यक्तिले प्रत्येक शनिबार विहान ७ बजे देखि १० बजेसम्म विहारमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय