बुधबार राति पनि जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार राति ७ बजेर ५० मिनेट जाँदा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर परकम्प गइरहेका छन् ।

यसैविच जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र सिस्मोमिटर-जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४ सय ६६ भन्दा बढी पराकम्पन गएका छन । पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिन यस यन्त्रले सघाउने विश्वास गरिएको छ ।रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ । त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको जनाइएको छ । स्टेसनहरू वरिपरि छन् र बिचमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय